मुलुकका युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा पनि संलग्न गराउन जरुरी छः नेपाल

1 year ago

मुलुकका युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा पनि संलग्न गराउन जरुरी छः नेपाल

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकका युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा पनि संलग्न गराउन जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा युवा संघ नेपाल, सहकारी विभागले आयोजना गरेको भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनताको आर्थिक स्तर सुधारका लागि युवाहरुलाइ राजनीतिमा संलग्न गराएजस्तै आर्थिक क्रियाकलापमा पनि संलग्न गराउन जरुरी रहेको बताउनुभएको हो ।

युवालाई सिर्जनात्मक कार्य तथा उत्पादनमा जोड्न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने अध्यक्ष नेपालको भनाइ छ । उहाले मुलुकमा देखिएको आर्थिक समस्या न्यूनीकरण गर्न समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने र सहकारी पनि ऐन नियममा बाधिएर अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै अध्यक्ष नेपालले जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताउनुभयो ।

उहाले पार्टीलाई बलियो बनाउनका लागि संगठन बलियो हुनुपर्ने भएकाले ठोस नजिता देखिनेगरि संगठन लगाएत पार्टीका लागेका नेता कार्यकर्ताहरुले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।