मन्त्री नवन्ने आफ्नो अभिव्यक्तिबाट पछि नहटेको खड्काको दावी

1 year ago

मन्त्री नवन्ने आफ्नो अभिव्यक्तिबाट पछि नहटेको खड्काको दावी

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्री नवन्ने आफ्नो अभिव्यक्तिबाट पछि नहटेको दावी गर्नुभएको छ ।

शनिबार ललितपुरको बाँडेगाँउमा रहेको सन्त नेता किसुनजीको आश्रममा पुग्नुभएका खड्काले सञ्चारकर्मीसंग कुरा गर्दै यसअघि आफुले मन्त्री मात्रै नवन्ने अभिव्यक्ति दिएको र उपप्रधानमन्त्री बन्दिन भनेर नभनेको बताउनुभएको हो । आफु धेरैचोटि मुलुकको मन्त्री बनेकाले फेरि त्यसमा लालच देखाउनु उपयुक्त नहुने देखेर आफुले मन्त्री बन्ने अभियान बन्द गरेपनि अहिले आफु उपप्रधानमन्त्री बनेको उहाले बताउनुभयो । उहाले अहिले उपप्रधान र रक्षामन्त्रीको जिम्मेवारी पार्टीको सभापतिले विश्वास गरेर दिएको भन्दै खड्काले आफ्नो अभिव्यक्तिबाट कहीँ दायाँबायाँ नगरेको धारणा राख्नुभयो । त्यस्तै उहाले वर्तमान सरकारमा सहभागीताको लागी कुनै बिशेष मन्त्रालयमा दावी नगरेको स्पष्ट पार्नुभयो । उहाले आफ्नो समेत सहमतिमा पार्टी सभापतिले प्रवक्ता डा प्रकाशशरण महतलाई अर्थमन्त्री बनाउनुभएको र यसमा अन्यथा मान्न नहुने बताउनुभयो । मन्त्री खड्काले आफुलाई बाँकी रहेका १९ मन्त्रालयबाट एउटा मन्त्रालय रोज्न लगाइएको र आफुले रक्षा रोजेको तर्क गर्नुभयो ।

मन्त्री खड्काले शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्न ध्यान केन्द्रीत गर्ने बताउनुभयो । उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अगाडि दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गर्नुभयो ।