मिटरब्याजीमाथि आवश्यक कारवाही अघि बढाउने प्रधानमन्त्रीको प्रतिवद्धता

1 year ago

मिटरब्याजीमाथि आवश्यक कारवाही अघि बढाउने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजीमाथि आवश्यक कारवाही अघि बढाइने प्रतिवद्धता जनाउनुभएको छ ।

शनिबार बालुवाटारमा पैदलै काठमाडौं आएका मिटरब्याज पीडितहरुसंग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरुपमा हल गर्न सरकारले काम अघि बढाएको र मिटरब्याजीमाथि आवश्यक कारवाही अघि बढाइने प्रतिवद्धता जनाउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सामन्तवादको अवशेषका रूपमा रहेको मीटरब्याजलाई सधैंका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताउनुभयो । यसको दीर्घकालिन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै उहाँले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

पीडितहरूका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको उहाँले बताउनुभयो । मीटरब्याज पीडितहरुको समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा रहेको बेला समेत मिटरब्याजीहरूमाथि कार्वाहीका लागि पहल गरेको बताउनुभयो । अहिले पनि यो समस्या पूर्णरुपमा समाधान गर्न नसके समस्याले गम्भीर रूप लिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीसँग भेटका क्रममा पीडितहरूले उच्चस्तरीय आयोग गठन, कानुन निर्माण तथा पक्राउ पूर्जी जारी भएका र घरबार जफत भएका पीडितमाथि न्याय गर्न माग गरेका थिए । त्यस्तै उनीहरुले मिटरब्याजीहरुले आफुहरुलाई पटक पटक धम्की दिएको र असुरक्षित महसुस गरेको गुनासो गरेका थिए ।

मिटरब्याज पीडितहरु आफ्ना गुनासो राज्यलाई सुनाउन बर्दिबासदेखि काठमाडौं पैदलै आएका थिए । मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरुबाट लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर माइतिघरमा धर्ना दिदै आएका छन् ।