राष्ट्रपतिको निर्वाचनका लागि मतदान चल्दै

1 year ago

राष्ट्रपतिको निर्वाचनका लागि मतदान चल्दै

 

मुलुकको नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान भइरहेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान भइरहेको हो । मतदान स्थलमा सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको छ । मुलकको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । मतदान स्थलमा राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङले मुलुकलाई एकतावद्ध बनाएर अघि बढाउने भन्दै एकअर्कालाई शुभकामना दिनुभएको छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।