रामसहाय प्रसाद यादवको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

1 year ago

रामसहाय प्रसाद यादवको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

 

नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार यादवलाई समर्थन गर्ने र संघीय संसदका सदस्य एवं प्रदेश सभामा सदस्यहरुलाई यादवको पक्षमा मतदान गर्न निर्देशन दिएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले राष्ट्रपतिमा निर्वाचित भएकोमा रामचन्द्र पौडेललाई बधाइ प्रकट गर्दै राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न सफलता प्राप्त हुने विश्वासका साथ शुभकामना व्यक्त गरेको छ भने पौडेललाई आफ्नो मत दिएर निर्वाचित गराएकोमा गठबन्धन दल आवद्ध सांसदहरुप्रति धन्यवाद प्रकट गरेको प्रवक्ता महतले बताउनुभयो ।

त्यस्तै कांग्रेस बैठकले बैंशाख १० गते हुने चितवन क्षेत्र नंवर २ लगाएत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभा सदस्यपदको प्रत्यक्ष तर्फको उम्मेदवारीका लागि उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धीत निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत निर्देश गर्ने निर्णय गरेको प्रवक्ता महतले बताउनुभयो ।

बैठकले कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व जिल्ला सभापति एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा रामबहादुर ठकुरी, चितवन क्षेत्र नंवर १ का महाधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।