मुलुकको संविधान बिपरित निर्वाचन आयोगले कुनै निर्णय गर्न मिल्दैनः खड्का

1 year ago

मुलुकको संविधान बिपरित निर्वाचन आयोगले कुनै निर्णय गर्न मिल्दैनः खड्का

 

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकको संविधान बिपरित निर्वाचन आयोगले कुनै निर्णय गर्न नमिल्ने बताउनुभएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको सत्तागठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकपछि सञ्चारकर्मीेसंग कुरा गर्दै खड्काले संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदाय हुनुपर्ने उल्लेख रहेको अवस्थामा अब पुरुष र खसआर्य उपराष्ट्रपति बन्न नपाउने आयोगको निर्णय संविधान विपरित रहेको बताउनुभयो । अहिले पुरुष व्यक्ति राष्ट्रपति चयन भएकाले लिङ्ग र समूदायको हिसावले फरक व्यक्ति उपराष्ट्रपति हुनुपर्ने प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति मुलुकको संविधानले गरेको व्यवस्था अनुकुलको रहेको उहाको भनाइ छ । उहाले आयोगले जारी गरेको विज्ञप्तीमा पनि फरक लिङ्ग वा समूदाय रहेकाले पनि विज्ञप्ती र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति मेल नखाने जिकिर गर्नुभयो । यस बिषयमा आयोगका पदाधिकारी र सत्ता गठबन्धनबीच पनि छलफल हुने उहाले बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आयोगको वक्तव्यमा फरक लिङ्ग वा समूदाय हुनुपर्ने उल्लेख रहेकाले संविधान र कानून बमोजिम नै देखिएपनि अब पुरुष र खसआर्य उपराष्ट्रपति बन्न नपाउने आयोगको निर्णय हो भने संविधानको खिलाप हुने जिकिर गर्नुभयो ।

उहाले निर्वाचन परिचालन समितिको बैठकले निर्वाचन प्रक्रियामा सवैलाई धन्यवाद दिने निर्णय गरेको जानकारी दिनुभयो ।