मिटरब्याजी पीडितहरुको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

1 year ago

मिटरब्याजी पीडितहरुको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरुले मिटरब्याजी पीडितहरुको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा उनीहरुले मिटरब्याजी पीडितहरु समस्या समाधानका लागि काठमाडौंसम्म हिडेर आउन बाध्य भएको र धेरै समस्या भोग्नुपरेको भन्दै तत्काल सरकारले पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन् । बैठकको शुन्य समयमा सांसद डा. बिमला राई पौडयालले मिटरब्याजसम्बन्धी तत्काल कानून संशोधन गरी कानूनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्ने बताउनुभयो । त्यस्तै सांसद जयन्तीदेवी राईले मिटरब्याजी पीडितको समस्यालाई गम्भीरतापूर्वक लिँदै वार्ता र संवादका माध्यमबाट तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो भने सांसद राधेश्याम पासवानले मिटरब्याजी पीडितहरु मानसिक र शारीरिक रुपमा पीडित रहेकाले सरकारले समस्या समाधानमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

बैठकमा थारु आयोगको चौँथो वार्षिक प्रतिवेदन, राष्ट्रिय समावेशी आयोगको चौँथो वार्षिक प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश भएको छ भने बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाको अर्को बैठक चैत २१ गते मंगलबार बोलाइएको छ ।