मछिन्द्र लगातार दोस्रो खेलमा पराजित

1 year ago

मछिन्द्र लगातार दोस्रो खेलमा पराजित

 

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो हार व्यहोरेको छ ।

बिहीबार ललितपुरस्थीत च्यासल मैदानमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित हुँदै मछिन्द्रले लगातार दोस्रो हार व्यहोरेको हो । आर्मीलाई जित दिलाउन दिपक गुरुङ र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए । दिपकले खेलको ४८ औं मिनेटमा र नवयुगले ५९ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै जावलाखेलले लगातार दोस्रो जित निकालेको छ । जावलाखेलको जितमा कप्तान सिमान्त थापा र फोडे फोफानाले एक एक गोल गरे । एनआरटीका सन्जिब विष्टले एक गोल फर्काए । खेलको ६८ औं मिनेटमा सिमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७७ औं मिनेटमा फोफानाले गोल गर्दै जावलाखेल २–० ले अघि रह्यो । खेलको ८० औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका एनआरटीका सन्जिबले गोल गरेपनि जावलाखेल २–१ ले विजयी भयो । जितसँगै जावलाखेलले २ खेलमा ६ अंक जोडेको छ । एनआरटीको यो लगातार दोस्रो हार हो । ए डिभिजन लिग अन्तर्गत शुक्रबार एन्फा कम्प्लेक्समा खुमलटार र थ्री स्टार तथा दशरथ रंगशालामा चर्च व्याइज र हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुनेछ ।