बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको छः प्रधानमन्त्री

1 year ago

बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको छः प्रधानमन्त्री

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।

सिंहदरबारमा आइतबार बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको हो । छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उहाले बताउनुभयो । उहाले आवश्यक परे समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउन पनि तयार रहेको जानकारी दिनुभयो ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरुले अहिलको अवस्थामा बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरु दिएका थिए । बैठकपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको समस्याका बारेमा प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको जानकारी दिनुभयो । अहिले ऋण नतिर्ने व्यवसायीको नियत नभएको भन्दै उच्च व्याजदर लगाएतका कारण व्यवसायमा परेको असरका बारेमा जानकारी गराएको उहाले बताउनुभयो ।

उहाले सरकारबाट ऋण तिर्नका लागि केहि समय र सहुलियत दिनुपर्ने र यसमा राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने सुझाव दिएको जानकारी दिनुभयो । अहिले खराव कर्जाका कारण मुलुकको आर्थिक व्यवस्थामा नै असर पर्ने बिषयमा पनि छलफल भएको उहाको भनाइ छ । बैठकमा सवै पक्षले अहिले समस्या समाधान नै जोड दिएको गोल्छाले बताउनुभयो । उहाले लघुवितमा भएको आक्रमणमा निजि क्षेत्रको कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।