पुष १० गते गरेको सहमतिबाट प्रचण्ड पछि हट्नुको कारण इतिहासले खोजिरहन्छः बिष्णु पौडेल

1 year ago

पुष १० गते गरेको सहमतिबाट प्रचण्ड पछि हट्नुको कारण इतिहासले खोजिरहन्छः बिष्णु पौडेल

 

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले प्रधानमन्त्री बन्नका लागि प्रचण्डले पुष १० गते गरेको सहमतिबाट पछि हट्नुको कारण इतिहासले खोजिरहने बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतमाथिको प्रस्तावको छलफलमा पौडेलले प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड बालकोट गएको र पुष १० गते सहमति भएको भन्दै पुरानो गठबन्धनमा फर्किनुपर्ने कारण इतिहासले खोजिरहने बताउनुभएको हो ।

पौडेलले प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै किन पुरानै गठबन्धनतिर फर्किनुपर्यो भन्दै प्रश्न गर्नुभयो । उहाले प्रधानमन्त्री प्रचण्डले पटक पटक राष्ट्रिय सहमति भनेपनि एमालेबिनाको राष्ट्रिय सहमति हुन नसक्ने बताउनुभयो ।

एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको भन्दै उहाले जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति नचाहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रिय सहमति नभइ देशलाई द्वन्द्वतर्फ र सम्बन्धलाई कटुतापूर्ण र शत्रुतापूर्ण दिशातर्फ लग्ने प्रयास भइरहेको उहाको आरोप छ ।

त्यस्तै पौडेलले प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिएको र फेरि विश्वासको मत लिइरहेको भन्दै अब कहिले विश्वासको मत लिने भन्दै कटाक्ष गर्नुभयो । उहाले एमालेबाट परराष्ट्रमन्त्री रहेकी विमला राई पौडेलप्रति प्रधानमन्त्रीले गरेको व्यहारका कारण एमालेले सरकारबाट समर्थन फिर्ता लिएको स्पष्ट पार्नुभयो ।