प्रचण्डविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च द्वारा अन्तरिम आदेश दिन अस्वीकार

1 year ago

प्रचण्डविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च द्वारा अन्तरिम आदेश दिन अस्वीकार

 

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले रिट निवेदकले माग गरे अनुसारको आदेश तत्काल दिन नपर्ने आदेश गरेको हो । अदालतले उक्त रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । संक्रमणकालिन न्यायको विषयका प्रश्नहरुको निरुपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिव देखिएकाले अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको पौडेलले बताउनुभयो ।

त्यस्तै रिट दायरकर्ता कल्याण बुढाथोकीले अदालतको आदेश राम्रो रहेको बताउनुभयो । उहाले अदालतले प्रक्रियागत रुपमा मुद्दाको टुङ्गो लाउने र न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा प्रचण्डबिरुद्ध दुईवटा रिट दर्ता भएको थियो । प्रचण्डबिरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरी लगाएत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरण सहित १४ जनाले रिट दायर गरेका हुन् । प्रचण्डले २०७६ साल माघ १ गते काठमाडौंको खुल्लामञ्चमा गरेको भाषणका क्रममा जनयुद्धमा मारिएका मध्ये ५ हजार जनाको मात्रै जिम्मा लिने अभिव्यक्ति दिएकाले पक्राउ गर्नुपर्ने आदेश माग गरिएको थियो ।