खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ होः प्रधानमन्त्री

1 year ago

खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ होः प्रधानमन्त्री

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौँको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स सङ्घको आयोजनामा आयोजित १६औँ एसियन क्रस कन्ट्री च्याम्पियनसीपको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खेलकुद अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको पनि बताउनुभयो । उहाँले खेलको महत्वलाई ठीक ढङ्गले बुझ्न सक्नेले मात्रै राष्ट्रको सही नेतृत्व गर्न सक्ने तथा जनआकांक्षा सम्बोधन गर्न सक्ने उल्लेख गर्नुभयो । खेलक्षेत्र विविधतामा एकता, सुशासन, दिगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकामा हामी सबैले गौरव गर्नैपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उहाले खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको समेत स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न तथा अपर्याप्त नीतिहरु निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।