आफुबिरुद्ध परेको मुद्धाका कारण माओवादी घटकहरुलाई एकठाँउमा आउने बाटो खुल्योः प्रचण्ड

1 year ago

आफुबिरुद्ध परेको मुद्धाका कारण माओवादी घटकहरुलाई एकठाँउमा आउने बाटो खुल्योः प्रचण्ड

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चमा आफुबिरुद्ध परेको मुद्धाका कारण माओवादी घटकहरुलाई एकठाँउमा आउने बाटो खुलेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैठौं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफुबिरुद्ध परेको मुद्धाले कुनै चिन्ता नभएको र यसका कारण माओवादी घटकहरुलाई एकठाँउमा आउने बाटो खुलेको बताउनुभएको हो ।

उहाले अदालतले पनि विस्तृत शान्ति सम्झौता भन्दा बाहिर नगई आदेश गरेको र यसले छिटो भन्दा छिटो ऐन अगाडि बढाउन मद्धत पुगेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मान्छेहरु मुलुकको परिवर्तन र जनताको हक अधिकारलाई खोस्नका उद्धत रहेकोले सचेत रहनुपर्ने जिकिर गर्नुभयो । उहाले एकतावद्ध भएर अघि बढे दुनियाको कुनै तागतले हराउन नसक्ने दावी गर्नुभयो । विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता वा नेतृत्वकर्ता तथा संविधान बनाउनेमाथि नकारात्मक सोच राखे सफल नहुने उहाको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले जुनसुकै धारमा रहेर पनि मुलुकका लागि ज्यान गुमाउनेहरु राष्ट्रिय सहिद भएकाले सवैलाई राष्ट्रिय सम्मान दिन सक्नुपर्ने बताउनुभयो । उहाले छिटै एकताबद्ध भएर मुलुकको परिवर्तनलाई संस्थागतका साथै संविधानलाई पूर्ण बनाउनका लागि अघि बढ्ने पनि बताउनुभयो ।