अनेरास्ववियुको प्रतिबद्धतापत्र सार्वजनिक

1 year ago

अनेरास्ववियुको प्रतिबद्धतापत्र सार्वजनिक

 

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामा राज्यको लगानी वृद्धि गर्ने र निःशुल्क शिक्षाको लागि आवश्यक नीति तर्जुमा गर्न पहल गर्नेसहित स्ववियु निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचन केन्द्रीत घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा सम्भाव्यता तथा आवश्यकताका आधारमा त्रिभुवन विश्वविद्यालयका ठुला आंगिक क्याम्पसहरूलाई स्वायत्त विश्वविद्यालयका रूपमा स्थापना गर्न पहल गर्ने, संस्कृत भाषा, आयुर्वेद चिकित्सा र पुर्वीय दर्शनको शिक्षालाई सबैको पहँुचमा पु¥याउने र शैक्षिक पर्यटनको विषय बनाउन पहल गर्ने, ७७ वटै जिल्लामा कम्तीमा एक त्रि.वि.को आंगिक क्याम्पस स्थापनाको लागि पहल गर्ने लगाएत उल्लेख छ ।

त्यस्तै उच्च शिक्षामा छात्रवृत्ति कार्यक्रमलाई वृद्धि गर्न पहल गर्ने, लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न छात्रवृत्ति प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन पहल गर्ने पनि घोषणा पत्रमा समावेश गरिएको छ । सम्पूर्ण विश्वविद्यालयहरूलाई अनिवार्य रूपमा शैक्षिक क्यालेन्डर निर्माण गर्न र शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक कार्यक्रम लागु गर्न पहल गर्ने, विश्वविद्यालयलाई प्रविधि मैत्री बनाउन पहल गर्ने लगाएतका बिषय उल्लेख गरिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताउनुभयो ।

त्यस्तै अनेरास्ववियुले विश्वविद्यालय तथा क्याम्पसहरुलाई बन्दरहित सम्मानित क्षेत्रका रुपमा विकास गर्न तालाबन्दी,तोडफोड, आगजनी जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने प्रतिवद्धता जनाएको छ भने आन्दोलनका नाममा हुने पदाधिकारी, प्राध्यापक, कर्मचारी माथिको व्यक्तिगत आक्रमण तथा दुव्र्यवहारको विपक्षमा रहने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने जनाएको छ ।