सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको जलजलेमा रहेको ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।

1 year ago

सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको जलजलेमा रहेको ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।

 

मन्त्रिपरिषद् बैठकका बारेमा जानकारी गराउन मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाँउपालीका १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले रक्षा मन्त्री हरि प्रसाद उप्रेतिको फाल्गुन १ देखि ५ गते सम्म हुने भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ भने बागमती बाँध आयोजनाको कार्यान्वयन अघि बढाउन काठमाडौंको गोकर्णेश्वर १ मा रहेको करिव १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै बैठकले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरु हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तार छुट दिने निर्णय गरेको छ । सम्पती सुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केहि ऐनलाई संशोधन गर्न वनेको बिधेयकलाई संसदमा पेश गर्न स्वीकृति दिने , मन्त्रीपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालय र कानून मन्त्रालयका सचिव उदयराज सापकोटालाई मन्त्रिपरिषद्को कार्यालय सचिव पदमा सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माले सवै मन्त्रालयको योजनाहरु प्रधानमन्त्री कार्यालयको एकीकृत कार्ययोजनाको बैठकमा पेश भएको जानकारी दिनुभयो । मन्त्रालयगत कार्यक्रमहरुलाई गम्भीरताका साथ अघि बढाएर कार्ययोजनाका साथ पुरा गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले राजनीतिक नेतृत्व र प्रशासनियक संयन्त्रबीचको समन्वयनमार्फत मुलुकलाई अघि बढाउने योजनालाई अघि बढाउन निर्देशन दिनुभएको प्रवक्ता शर्माले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले रास्वपाले सरकार छाडेपनि समर्थन नछाडेकाले सरकार संकटमा रहेको भन्न नमिल्ने बताउनुभयो । रास्वपाका बिषयमा गठबन्धन र सरकार सञ्चालन संयन्त्र छलफल हुने उहाको भनाइ छ ।