राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित

1 year ago

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित

 

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । अर्यालले सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको थियो भने बिपक्षी दलहरुले कुनै मनोनयन दर्ता गराएका थिएनन् । अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्दै अध्यक्ष तिमिल्सिनाले निर्विरोध निर्वाचित भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

त्यसअघि बैठकमा अर्यालका प्रस्तावक राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै मुलुकलाई अघि बढाउन सरकार प्रतिपक्षी सवै मिलेर राष्ट्रिय सहमति निर्माण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । राष्ट्रिय सभाको उपाध्यक्षमा सहमति कायम हुनु सकारात्मक भएको उहाको भनाइ छ । प्रधानमन्त्रीले विश्वासको मत लिदा देखिएको राष्ट्रिय सहमति राष्ट्रियसभा पनि देखिएको उहाले बताउनुभयो ।

त्यस्तै अर्यालका समर्थक नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटाले पनि मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनका लागि राष्ट्रिय सहमति कायम गर्नुको बिकल्प नभएको धारणा राख्नुभएको थियो ।