राष्ट्रपति विद्यादेवी भण्डारीले विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताउनुभएको छ ।

1 year ago

राष्ट्रपति विद्यादेवी भण्डारीले विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताउनुभएको छ ।

 

शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको र यसका लागि आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने बताउनुभयो । संविधान कार्यान्वयन, सङ्‍घीय शासन व्यवस्था सञ्‍चालन र लोकतन्‍त्रको व्यावहरिक सुदृढीकरणका लागि अवलम्बन गरेका नीति, निर्माण गरिएका कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको उहाले बताउनुभयो । राष्ट्रपति भण्डारीले केही समयदेखि बजारमा देखिएको मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेष्‍ट स्रोत उपलब्ध हुन नसकेको र बाह्य कारणसमेतले गर्दा उत्पादन क्षेत्र कमजोर बन्दै गइरहेको बताउनुभयो । बढ्दो दरको मुद्रास्फीति र विकराल बन्दै गएको अन्‍तर्राष्‍ट्रिय व्यापार घाटाको स्थितिलाई सम्बोधन गर्न गम्भीर हुनुपर्ने उहाले बताउनुभयो । अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादनको क्षेत्र सबल बनाउनका लागि कृषि क्षेत्रको कार्यक्रमलाई पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको र हाल विभिन्‍न शीर्षकमा दिइने अनुदानलाई एकत्रित गरी उत्पादनको परिमाणका आधारमा उपलब्ध गराउनुपर्ने उहाले बताउनुभयो । उहाले सुशासनको प्रत्याभूत गर्न र आम नागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको भन्दै उहाले समयबद्ध कार्ययोजना बनाएर नतिजा प्राप्‍त हुने गरी तत्कालै कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले कामका लागि युवा विदेसिने अवस्थाको अन्त्य गर्न मुलुकभित्रै रोजगारी सिजर्नाका लागि सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम, सरकारले अघि सार्ने नीति तथा कार्यक्रम, बजेट एवं नागरिकको समृद्धि र विकासप्रतिको आकाङ्‍क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्‍त्र प्रतिबद्ध भएर लाग्ने धारणा राख्नुभयो । उहाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।