राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

1 year ago

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

 

निर्वाचन आयोगले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको सोमबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गर्नुभएको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतपरिणाम साँझ ७ बजेभित्र आइसक्ने बताउनुभयो । निर्वाचनका लागि संघीय संसदका सदस्यले मतदान गर्ने एउटा र प्रदेश सभाका सदस्यले मतदान गर्नेगरि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको उहाले बताउनुभयो । राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गर्दै प्रक्रिया सुरु हुने उहाले बताउनुभयो । थपलियाले निर्वाचनमा कसैको बहुमत नआए २६ गते नै अर्को निर्वाचन हुने बताउनुभयो । उहाले अर्को पटक देखि आफ्नै प्रदेशबाट नै राष्ट्रपति निर्वाचनमा मतदान गर्न सक्ने गरि कानून संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।

आयोगका अनुसार फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदान हुने कार्यसूची छ । त्यस्तै उपराष्ट्रपति निर्वाचनको प्रक्रिया भने फाल्गुन २७ गतेदेखि सुरु हुने छ । निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल यसअघि नै नियुक्त भइसक्नुभएको छ ।