महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा गरेको छ ।

1 year ago

महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा गरेको छ ।

 

बुधवार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले शिवरात्रिका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो । हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण चाँड मध्येको एक शिवरात्रि पर्व फागुन ६ गते परेको छ । नेपाल स्काउट समेतका गरी करिव ४ हजार जना स्यंसेवकहरु परिचालन गर्ने र सादा पोशाकमा समेत प्रहरीहरु परिचालन गरी मेला क्षेत्रमा विशेष अनुगमन गरिने कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार उपसमिति संयोजक नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारको नशालु पदार्थ तथा गाँजा–भाङ, जाँड–रक्सी लगायतको विक्रिवितरण, ओसारपसार भण्डारण एवं प्रयोग गरे कारवाही गर्ने कोषले जनाएको छ । गत वर्ष करिब १४ लाख दर्शनार्थीले आराध्यादेव पशुपतिनाथको दर्शन गरेको र यस बर्ष २० लाख दर्शनार्थी आउने अनुमान कोषले गरेको छ । शिवरात्रीका दिन पशुपतिनाथको चारैवटा ढोका बिहान ३ बजे खुल्ला गरिने र पशुपति प्रवेशका लागि बिभिन्न स्थानबाट चारवटा लाईनको व्यस्था गरिएको प्रचारप्रसार उपसमिति संयोजक सुवेदीले जानकारी दिनुभयो ।

शिवरात्रिका दिन भगवान शिवको पूजा आराधनाका लागि लाइनमा बसेका बिरामीहरुलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुने कोषले जानकारी दिएको छ । त्यस्तै एम्बुलेन्स र आपत्कालीन अवस्थाका लागि कोषले दमकल समेत तयारी अवस्थामा रहने गरी व्यवस्था गरेको बताएको छ । शिवरात्रीमा लाखौंको संख्यामा आउने दर्शनार्थी, भक्तजनहरुको संख्या र समग्र व्यस्थापनलाई समेत मध्यनजर गर्दै कोषले पर्यटन मन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन गरि विभिन्न कार्यहरु गरिरहेको जनाएको छ ।