महन्थ ठाकुरलाई राष्ट्रपति चयन गर्न कांग्रेससमक्ष लोसपाको आग्रह

1 year ago

महन्थ ठाकुरलाई राष्ट्रपति चयन गर्न कांग्रेससमक्ष लोसपाको आग्रह

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सहमतिका आधारमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति चयन गर्न कांग्रेससमक्ष आग्रह गरेको छ ।

बुधबार काठमाडौंमा कांग्रेस सभापति शेर बहादुर देउवा लगाएतका नेताहरुसंग छलफल गर्दै लोसपाका नेताहरुले राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएको अवस्थामा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन प्रस्ताव गरेको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिनुभयो ।

मुलुकको परिस्थीतिलाई बिचार गरेर राष्ट्रपति सहमतिय आधारमा बनाउनुपर्ने र उचित पात्र ठाकुर भएको उहाले बताउनुभयो । छलफलका क्रममा कांग्रेस सभापति देउवाले सहमतिका लागि ठाकुर उपयुक्त पात्र भएपनि राष्ट्रपतिका बिषयमा पार्टी भित्र निर्णायक छलफल नभएको बताउनुभएको भण्डारीले बताउनुभयो ।

यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली लगाएतका नेताहरुसंग भेटेर राष्ट्रपतिमा ठाकुरलाई सर्वसम्मत गर्न आग्रह गरेको थियो । राष्ट्रपति निर्वाचनको उम्मेद्वारी दर्ता फाल्गुन १३ गते हुँदैछ, त्यसअघि बिभिन्न दलहरु राष्ट्रपति निर्वाचनका बिषयमा आन्तरिक छलफलमा जुटेका छन् ।