माधवनारायण स्वास्थानीका व्रतालुहरु द्वारा चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना

1 year ago

माधवनारायण स्वास्थानीका व्रतालुहरु द्वारा चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना

 

माधवनारायण स्वास्थानीका व्रतालुहरुले बिहीबार भक्तपुरको चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।

उनीहरुले चाँगुनारायणमुनिको जंगलमा कृत्रिम पोखरी बनाएर स्नान गरेपछि चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् । १ महिने स्वास्थानी व्रतका क्रममा माधवनारायणलाई विभिन्न स्थानको भ्रमण गराउने प्रचलनअनुरुप व्रतालुहरु बुधबार साँझ नै चाँगुनारायण पुगेका थिए । व्रतालुहरु खाली खुट्टा साँखुदेखि हिँडेर चाँगुनारायण पुगेका थिए । व्रतालुहरु स्वस्थानी सुरु भएदेखि नै माधव नारायण ’परदेश’को यात्रामा थिए । चाँगुनारायणको दर्शन गरेपछि यस बर्षको माधवनारायणको परदेशको यात्रा सकिएको छ । माधवनारायण भगवान विष्णुको अवतार भएको र लिच्छवीकालदेखि नै व्रतालुले विभिन्न क्षेत्रको भ्रमण गराउँदै आएको संस्कृतिविद्हरुको भनाइ छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । स्वस्थानीका व्रतालुले माधवनारायणको दर्शन नगरे व्रत पूरा नहुने र फल प्राप्त नहुने धार्मिक विश्वाससमेत छ ।

स्वस्थानीका व्रतालु महिलाहरुले रातो र माधवनारायणका पुरुष व्रतालुले सेतो वस्त्र मात्र लगाउनुपर्ने परम्परा छ ।