पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

1 year ago

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

 

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । मनोनयनमा पर्ने खेलाडीमा फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा रहेका छन् । एनएसजेएफको खेलाडी छनोट समितिले मनोनयनमा पर्ने ५ खेलाडीको नाम सार्वजनिक गरेको हो । पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन् । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने स्पोर्ट्स अवार्ड फागुन २३ गते हुनेछ । यस पटकको पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस अवार्डसँगै ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो ।

त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ । वर्ष खेलाडी पुरुष, महिला,युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिने जनाईएको छ । मनोनयन नहुने विधाहरु लाइफटाइम, स्पेशल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने मन्चले जनाएको छ ।