शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पुत्ला दहन गरेको छ । 

1 year ago

शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पुत्ला दहन गरेको छ । 

 

 

शुक्रबार बिहान अनेरास्ववियूका विद्यार्थी नेताहरूले प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । प्रदर्शनकारीले  शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् । शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन । प्रदर्शनमा सहभागी अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले  निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर कमिसन खानका लागि यस्तो निर्णय गरेको आरोप लगाउनुभयो । उहाँले यो निर्णयले झनै विद्यार्थीहरुलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने दाबी गर्नुभयो । अध्यक्ष पराजुलीले जनक शिक्षा सामग्री केन्द्रमा भएका अनियमिततालाई सुधार गर्नुको साटो निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाई गर्न दिएर जनक शिक्षा मास्ने बाटोतर्फ मन्त्रालय लागेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण समेत गराउनुभयो । 

 


मन्त्रालयले तत्काल उक्त निर्णय फिर्ता नलिए अनेरास्ववियूले देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।