विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गर्ने सरकारको निर्णय

1 year ago

विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गर्ने सरकारको निर्णय

 

सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रीपरिषद्को आकस्मीक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगका सदस्यहरुमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहनुभएको छ भने सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहनुभएको छ । आयोगलाई दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन ४५ दिन भित्र बुझाउन निर्देशन दिइएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

बैठकले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ भने आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना र आवश्यक सहजीकरणको व्यवस्था मिलाउने निर्णय भएको मन्त्री पौडेलले बताउनुभयो । त्यस्तै बैठकले दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको पौडेलले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्ले घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको र दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।