नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्रको पहिलो साता

1 year ago

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्रको पहिलो साता

 

छैटौ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत्रको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।

आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव आगामी चैत्र २ देखि ६ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो । महोत्सवमा ५५ देशका ५ सय बढि फिल्मबाट छनौट भएका ३५ देशका ९५ फिल्मबीच प्रतिष्पर्धा हुने निफ अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । बिगतमा झै महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार प्रदान गरिने उहाले बताउनुभयो । यस पटकबाट निफका प्रतिष्पर्धी फिल्महरुलाई बिभिन्न सिनेमा घरहरुमा प्रदर्शन गरिने पाठकले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैमा ठुलो कुरा भएको बताउँदै यसले नेपाली चलचित्र क्षेत्रलाई माथि उठाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै महोत्सवका प्रमुख सल्लाहकार नीर शाहले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्रको विकास महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।