क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त

1 year ago

क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त

 

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् ।

उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने थुनामुक्त भएका हुन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् । लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेले अदालतको सर्तलाई पालना गर्ने र अव बाँकी कानूनी लडाई लड्ने बताउनुभयो ।

जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । लामिछाने काठमाडौँ उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौँको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए ।