क्यानको कार्यसम्पादन समितिमा रहेका पदाधिकारीको राजीनामा माग

1 year ago

क्यानको कार्यसम्पादन समितिमा रहेका पदाधिकारीको राजीनामा माग

नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रिय सदस्यहरुले क्यानको कार्यसम्पादन समितिमा रहेका पदाधिकारीको राजीनामा माग गरेका छन् ।

क्यानका केन्द्रिय सदस्यहरुले आइतबार पत्रकार सम्मेलन गर्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेको हो । क्यानका केन्द्रिय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पत्रकार सम्मेलन गर्दै राजीनामा माग गरेका हुन् । नेपाल टी–ट्वान्टी लिगमा देखिएको पछिल्लो विवादमा कार्यसम्पादन समितिको कमजोरी भएको भन्दै राजीनामाको माग गरिएको केन्द्रीय सदस्य ऋषिराम गौतमले बताउनुभयो । नेपाल टी–ट्वान्टी लिगको स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँगको सम्झौता क्यान नेतृत्वको जानाजान गरेको गल्ति भएको उहाँले आरोप लगाउनुभयो । पटक पटक सचेत गराउदा पनि भारतीय कम्पनिलाई नेपाली क्रिकेट सुम्पीने हठ गर्ने नेतृत्व अहिले आएर माफी मागेको भरमा पन्छिन नमिल्ने उहाँले बताउनुभयो ।

नेपाल टी–ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो । स्पट फिक्सिङको आरोपमा सीआईबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।