’ए’ डिभिजन लिगको पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक

1 year ago

’ए’ डिभिजन लिगको पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक

 

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा ’ए’ डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । लिगको पहिलो खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने छन् । रंगशालामा हुने उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ । यस पटक चर्च ब्वाइज युनाईटेड फुटबल क्लब र एफसी खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ । नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ । साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्नेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुने एन्फाले जनाएको छ । खेल तालिका सार्वजनिक कार्यक्रममा एन्फाका महासचिव किरण राईले नेपाली फुटबलको मेरुदण्डको रुपमा रहेको लिगलाई सानदार ढंगले सम्पन्न गर्ने बताउनुभयो । यसअघि भएका कमीकमजोरीबाट सिक्दै लिगलाई व्यवस्थीत गर्ने उहाले बताउनुभयो ।

सहिद स्मारक ’ए’ डिभिजन लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ । फेयर प्ले अवार्ड विजेताले ३ लाख पाउने छन् ।