आर्मी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

1 year ago

आर्मी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

 

त्रिभुवन आर्मी क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गण्डकी प्रदेशको पुरुष भलिबल टोलीलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलको पहिलो सेट आमीले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट गण्डकीले २५–२१ ले जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए । तेस्रो सेट आर्मीले २५–१० ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा गण्डकीले आर्मीलाई बलियो चुनौती पेश गरेपनि आर्मी २६–२४ ले विजयी हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।

यस्तै शुक्रबार नै नेपाल एपिएफ क्लबमाथि जित निकाल्दै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह ‘बी’ को विजेता बनेको हो । हारका बावजुत एपिएफ समूह उपविजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबारमा भएको खेलको पहिलो सेट २५–२० ले जितेको आर्मीले दोस्रो र तेस्रो सेट १९–२५ र १३–२५ ले गुमाउन पुगेको थियो । तर, आर्मीले चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–२२ को जित निकालेपछि खेल पाँचौ सेटमा लम्बियो । निर्णायक तथा पाँचौ सेटमा आर्मीले एकपक्षीय प्रदर्शन गर्दै १५–५ को जित निकाल्न सफल भयो ।

त्यस्तै शुक्रबार भएको अर्को खेलमा महिलातर्फ गण्डकीले कृष्ण सेकेन्डरी एकेडेमी काभ्रेलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ मा तेस्रो भएको छ । एकपक्षीय खेलमा गण्डकीले कृष्णमाथि २५–८, २५–१० र २५–५ को सहज जित निकाल्न सफल भयो ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी–एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।