काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ ।

1 year ago

काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ ।

 

सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबीन्द्र मिश्रलाई एक सय २९ मतले पराजित गर्नुभयो । सिंहले सात हजार एक सय ४० मत ल्याउनुभयो । साथै, मिश्रले सात हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो । तत्कालीन समयमा कांग्रेसका सिंहले १० हजार नौ सय ३६ मत प्राप्त गर्नुभएको थियो भने विवेकशिल साझा पार्टीका उम्मेदवार मिश्रले १० हजार एक सय १८ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित भएपछि नेता सिंहले संविधानको सफल कार्यान्वयनका साथै जनतासंग गरेका प्रतिवद्धताहरुलाई पुरा गर्ने बताउनुभयो ।

सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गर्नुभएका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री हुनुभएको थियो ।