सदभावनाका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको जात्रा मंगलवारबाट सुरु

2 years ago

सदभावनाका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको जात्रा मंगलवारबाट सुरु

सदभावनाका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको जात्रा मंगलवारबाट सुरु भएको छ ।  हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन जात्रा मनाइन्छ । जात्राको पहिलो दिन मंगलवार सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकी जमलको पुर्‍याएर गुर्जु पल्टनसहित रथारोहण गरिएको थियो । रथलाई जमलबाट विभिन्न टोल हुँदै असन ल्याएर राखिएको छ ।

असनमा राखिएको रथको पाङग्रामा कनफत्ता जोगी समुदायले राँगा बलि दिएर पूजा गर्ने परम्परा रहेको छ । बुधबार अर्थात् नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पुर्‍याईन्छ ।

चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोलमा रहेको मच्छिन्द्रनाथको आमा रुखको परिक्रमा गरेपछि रथयात्रा सम्पन्न हुन्छ ।

त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा बोकी विभिन्न टोलको परिक्रमा गराई जनबहालमा रहेको मन्दिरमा पुर्‍याएपछि जात्रा सकिने परम्परा छ ।