सचिवालय बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह

2 years ago

सचिवालय बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूले सचिवालय बैठकका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसमक्ष आग्रह गर्ने भएका छन् ।

शुक्रबार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकले शनिबार प्रधानमन्त्रीलाई भेटेर बैठकका लागि आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा  प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भएको भेटबारे आफूपक्षीय नेताहरूलाई जानकारी गराउनुभएको थियो । आफूसँगको भेटमा ओलीले सहमति बेगर बैठक बोलाए त्यो पार्टी फूटको बिन्दु हुनेछ भनेर चेतावनी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यकारी अध्यक्षलाई बैठक बोलाउने अधिकार भएपनि पार्टी एकता जोगाउन ओलीसँगको सहमतिमै प्रचण्डले  सचिवालयको अनौपचारिक बैठक बोलाएको श्रेष्ठले बताउनुभयो । स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगर्दा पार्टीमा समस्या आएको आफूहरूको निष्कर्ष रहेको श्रेष्ठले बताउनुभयो ।

उहाँले अहिलेको परिस्थितिमा पार्टीमा जुनसुकै प्रकारको समस्या, गत्यावरोधको स्थिति देखापरेको भएपनि सहमतिका आधारमा बैठक बस्ने र पार्टी एकतालाई बचाउँदै विधि र पद्धतिका आधारमा लैजान अविलम्ब बैठक बोलाउनुपर्छ भन्ने निष्कर्ष रहेको जानकारी दिनुभयो ।

भेलामा सहभागी अधिकांशले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगर्दा समस्या आएको भन्दै ओलीलाई भेटेरै बैठक राख्न आग्रह गर्ने सुझाव प्रचण्डलाई दिएका थिए ।

९ सदस्यीय सचिवालय मध्ये शुक्रबारको बैठकमा ५ सदस्य सहभागि थिए । बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री इश्वर पोखरे, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागि हुनुभएन भने  कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता  श्रेष्ठ सहभागि हुनुहन्थ्यो ।