शतबीज छरी बालाचतुर्दशी मनाइयो

2 years ago

शतबीज छरी बालाचतुर्दशी मनाइयो

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी मनाइएको छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको दिन बेलुकी शिवालयहरुमा दीपदान गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छर्ने प्रचलन रहेको छ । यसो गरेमा दिवंगत आत्माले शान्ति पाउने धार्मिक विश्वास छ । दिवगंत पितृको सम्झनाको सात थरिका विभिन्न अन्नहरु मिलाएर शतबीज छर्ने गरिन्छ ।

शतबीजको रुपमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ।

देशभरका शिव मन्दिरहरुमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गर्न लाखौं भक्तजन आउने गर्दछन् ।

यस वर्ष पशुपतिनाथमा भने मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न कोषले अनुरोध गरेको थियो ।

तर कोषले रोक लगाए पनि पशुपतिनाथ मन्दिरमा आइतबार बिहानै शतबीज छर्नेहरुको घुइँचो लागेको थियो । यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सरकारले पशुपति मन्दिरमा प्रवेश निषेध गरेपछि मन्दिर परिसर बाहिरबाटै शतबीज छरेका हुन ।

शतबीज छर्न मन्दिरको मुख्य क्षेत्र कैलाशडाँडामा निषेध गरिएको थियो । मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा मात्र शतबीज छर्न दिइएको थियो ।

यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ ।