‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित

2 years ago

‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधकाबीच प्रतिनिधिसभा बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । 

एमाले सांसदको विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले बिहीबारको बैठकमा उक्त दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुई विधेयक पारित भएसंगै सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउने बाटो खुलेको छ ।

त्यसअघि बिहीबारको बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले रोष्टम घेराउ गरेका थिए । विरोधकाबीच सभामुख अग्नी सापकोटाले दुई विधेयकमाथिको छलफललाई अघि बढाउनुभएको थियो भने छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्र भाग दिनुभयो । छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री शर्माले बागमती प्रदेशमा उद्योग सञ्चालन हुँदा प्रदुषण भएको विषयमा बागमती प्रदेशबाट अन्य प्रदेशमा उद्योग सार्ने प्रक्रिया सुरु भएको बताउनुभयो । उहाँले करको दायरा बृद्धि गरेर राजस्वलाई बृद्धि गर्ने नीति रहेको जानकारी दिनुभयो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । त्यस्तै बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।