3 years ago
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । आज बिहान सवा ७ बजे ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ ।
ल्हासा संसारकै सबैभन्दा उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल हो । हिमालय एयरलाइन्सले सफल परीक्षण उडानपछि यस रुटमा नियमित उडानको योजना बनाएको छ ।
आज बिहान त्रिभुवन विमानस्थलबाट उडेको जहाज ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे -स्थानीय समयमा अवतरण गरेको थियो र यो जहाज ल्हासाबाट स्थानीय समयअनुसार अपरान्ह ३ बजे उड्नेछ । काठमाडौंमा स्थानीय समयअनुसार २ बजे अवतरणको योजना बनाइएको छ ।
ल्हासा नै उडान गर्न कम्पनीले भित्र्याएको ए३१९-११ न्यारोबडी जहाज परीक्षण उडानमा प्रयोग गरिएको छ ।
यस जहाजमा १२० इकोनोमी र ८ विजिनेस क्लास सिट छन् भने जहाज अधिकतम १४ हजार ५०० फिटसम्मको एअररोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गमा सञ्चालन गर्न सक्ने क्षमता रहेको छ ।
ल्हासास्थित विमानस्थल रहेको स्थान ३,५७० मीटर अर्थात् ११ हजार ७११ फिट उचाइमा छ । कम्पनीका प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठका अनुसार ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने हिमालय पहिलो र एक मात्र अन्तराष्ट्रिय वायुसेवा कम्पनी बनेको छ।