राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बुधबार रानीपोखरीको उदघाटन

2 years ago

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बुधबार रानीपोखरीको उदघाटन

तीन सय ५२ वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएको छ ।

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ । त्यसअघि मंगलबार शहरी बिकास मन्त्री कृष्णगोपाल श्रेष्ठले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको स्थलगत अवलोकन गर्नुभएको थियो ।

२०७२ को बिनासकारी भूकम्पका कारण रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति भएको थियो । तर बिभिन्न अवरोध पार गर्दै रानीपोखरी र बालगोपालेश्वर मन्दिरको निर्माणले पूर्णता पाएको हो ।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पुर्‍याइएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो। सरकार र प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएको शहरीबिकास मन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले बुधबार बिशेष कार्यक्रमकाबीच रानीपोखरीको उद्घाटन गरिने जानकारी दिनुभयो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । राजाले आफ्ना छोरा चक्रवर्तेन्द्रकै सम्झनामा यो पोखरी बनाएका हुन् ।