युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १० औं जन्म जयन्ती उहाँको सम्झना गरी मनाइए

2 years ago

युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १० औं जन्म जयन्ती उहाँको सम्झना गरी मनाइए

युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १० औं जन्म जयन्ती उहाँको सम्झना गरी मनाइएको छ । वि.सं. १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । श्रेष्ठ नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिनुहुन्छ ।

कोरोना महामारीका कारण श्रेष्ठको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उहाँका छोरा रविचरण श्रेष्ठले बताउनुभयो ।

जन्मजयन्तीका अवसरमा श्रेष्ठका परिवारले काठमाडौंको न्युरोडस्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पण गरेका थिए । श्रेष्ठका छोरा रविचरण श्रेष्ठले सिद्धिचरण श्रेष्ठ राज्यको कवि भएको बताउनुभयो ।

उहाँले नेपाली साहित्यमा दिएको योगदानलाई राज्यले भूल्न नहुने जिकिर गर्नुभयो । उहाले १९ सय ९७ सालमा सिद्धिचरण श्रेष्ठको क्रान्ति र हड्ताल शव्दले नेपाली क्रान्तिको राजनीतिक र सामाजिक लकडाउन खोलेको स्मरण गर्नुभयो । सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिनुहुन्छ ।

युगकवि श्रेष्ठले आफ्नो जीवनको साढे छ दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा सफलतापूर्वक कलम चलाउनुभएको थियो ।

उहाँका ‘मेरो प्यारो ओखलढुंगा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु सर्वाधिक चर्चामा छन् । त्यस्तै उहाँका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपीला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन् । युगकवि श्रेष्ठको वि.सं.२०४९ साल जेठ २२ गते निधन भएको थियो ।