3 years ago
संयुक्त अरब इमिरेट्स युएईले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ ।
महामारी कोरोना संक्रमणको कारणले तेलको मूल्यमा आएको गिरावटमा हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।
युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका काबिल व्यक्तिहरुलाई युएईको नागरिकता दिइने भएको छ ।
यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको दुबईका शासक मकतुमले बताएका छन् । अबुधाबीबाट प्रकाशित हुने अखबार द नेशनलका अनुसार यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुने भएका छन् ।
युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन । युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन् । ती नामावलीलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय मन्त्रिपरिषदले गर्ने बीबीसीले जनाएको छ ।