बिस्का जात्राको आठौं दिन शनिवार भक्तपुरमा सगुन पूजा धुमधामका साथ मनाइए

2 years ago

बिस्का जात्राको आठौं दिन शनिवार भक्तपुरमा सगुन पूजा धुमधामका साथ मनाइए

बिस्का जात्राको आठौं दिन शनिवार भक्तपुरमा सगुन पूजा धुमधामका साथ मनाइएको छ। शनिवार स्थानीयहरू समूहसमूहमा परम्परागत बाजाहरू धिमे बाजा, बाँसुरी बाजाका साथ भजन खलहरूले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी विभिन्न देवीदेवताहरुलाई सगुन दिएका छन् ।

पूजामा स्थानीय परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर सहभागी भएका थिए। सबै देवीदेवतालाई आ–आफ्ना देव घरबाट निकाली चोक तथा डवलीमा राखिएको थियो।

पूजाका क्रममा सहभागीले देवी देवतालाई आ–आफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए। यसवर्ष भक्तपुर नगरपालिका चोछेंस्थित चोछें दाफा भजन खलको आयोजनामा द्यो स्वंग दिइएको हो।

यो पुजा प्राचिन कालदेखि नै संचालन हुँदै आएको इतिहासमा उल्लेख छ। बिस्का जात्राका क्रममा विध्नबाधा वा केही भुलचुक भए माफ पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पुजा गर्ने प्रचलन रहेको संस्कृतिविद्हरूको भनाइ रहेको  छ।