3 years ago
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बिगतको कमिकमजोरीलाई दोहरिन नदिने गरि पार्टी अघि बढ्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंको तीनकुनेस्थीत पार्टीको नयाँ केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले विभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्दै बिगतको कमिकमजोरीलाई दोहरिन नदिने गरि अघि बढ्ने बताउनुभएको हो ।
उहाँले नेता र पार्टीका साथै राजनीतिमा देखिएका विकृतिका विरुद्ध उभिने प्रण गर्नुभयो । नेता नेपालले अहिले कुनै पार्टीसंग एकता हुन नसक्ने भन्दै चूनावमा भने तालमेल हुने धारणा राख्नुभयो । चूनावसम्म मात्र नभएर लामो समयसमम्म गठबन्धन दलबीच सहकार्य हुने उहाँले बताउनुभयो ।
त्यस्तै अध्यक्ष नेपालले सर्वोच्चले नै दलको ह्वीप नलाग्ने भन्दाभन्दै आफ्ना सांसदलाई कारवाही हुनुपर्छ भन्ने कुराको अर्थ नरहने जिकिर गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपी ओलीले गुटबन्दी गरेको र पार्टीमा एकलौटी गर्न खोजेको भन्दै व्यक्तिबादमा डुवेको व्यक्तिले नियमको कुरा गर्न नसुहाउने तर्क गर्नुभयो ।
अदालतमा रहेको विषयलाई सदनमा विरोध गरेर एमालेले कानूनको उलंघन गरेको उहाँले आरोप लगाउनुभयो । नेकपा एमालेसंग अलग्गीएर बनेको नेकपा एकीकृत समाजवादीले शुक्रबारबाटै कार्यालयबाट नियमित काम सुरु गरेको छ ।