प्रतिनिधि सभा भङ्ग गर्ने निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने

2 years ago

प्रतिनिधि सभा भङ्ग गर्ने निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा भङ्ग गर्ने निर्णय विरुद्ध सशक्त आन्दोलन गर्ने बताउनु भएको  छ । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले जालझेल गरी प्रतिनिधि सभा भङ्ग गरेको भन्दै शान्तिपूर्ण सशक्त आन्दोलनमार्फत यो कदमलाई परास्त गरेरै छोड्ने दाबी गर्नुभयो ।

उहाँले प्रतिनिधि सभा विघटन हुनु इतिहासकै कालो दिन भएको भन्दै निरङ्कुश कदमविरुद्ध डटेर लड्ने बताउनु भयो । प्रचण्डले आन्दोलनको पहिलो चरणबाट सकारात्मक परिणाम नआएमा गम्भीर खालको आन्दोलन गर्ने पनि बताउनु भयो ।

यस्तै उहाँले लामो संघर्ष र हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र गणतन्त्रको रक्षा गर्ने दायित्व आएको बताउनु भयो ।

प्रतिनिधि सभा भङ्ग भएको विषय सर्वोच्च अदालतसम्म पुगेको र आफूलाई न्यायालयप्रति भरोसा भएको पनि बताउनुभयो । उहाँले अदालतले सरकारको विपक्षमा नै फैसला सुनाउने विश्वास समेत व्यक्त गर्नुभयो । 

उहाँले पार्टीको बारेमा पनि प्रश्न उठेको भन्दै पार्टीमा ४४१ जना केन्द्रीय सदस्यहरू रहेको र २९५ जना केसका हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री केपी ओली संघीयता र गणतन्त्र विरोधी रहेकाले उनले संविधान र गणतन्त्रकै हत्या गर्न लागेको आरोप उहाँले लगाउनु भयो । 

अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा ओली बयलगाडाको कथा सुनाएर बसेको सबैले सुनेको भन्दै आन्दोलन सफल भएपछि गणतन्त्र स्वीकारेकाले ओलीलाई विश्वास गरेर प्रधानमन्त्री बनाएको तर्क गर्नुभयो ।

पत्रकार सम्मेलनमा अर्का अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड र आफुबीचको सहमति बन्नुमा मुल कुरा कम्युनिस्ट आन्दोलनको विचार, नीति विधि र पद्दतिलाई समातेर अघि बढ्नेमा विचार मिलेको बताउनुभयो । नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सम्पत्ति आफूहरूको भएको दावी पनि गर्नुभयो ।

त्यस्तै बरिष्ठ नेता झलनाथ खनालले प्रचण्ड र माधव नेपाल बराबर हैसियतका अध्यक्ष बनेको बताउनुभयो । खनालले पार्टी काम र योगदानका आधारमा कोही वरिष्ठ भए पनि अध्यक्ष पदमा जो हुन्छ उही माथि हुने प्रष्ट पार्नुभयो ।

त्यस्तै खनालले ओलीको प्रवृति गोमन साप जस्तै रहेको भन्दै यस्तै प्रवृतिले समस्या पैदा भएको तर्क गर्नुभयो ।