नव वर्ष नेपाल सम्वत् ११४१ सोमबारदेखि शुरु

2 years ago

नव वर्ष नेपाल सम्वत् ११४१ सोमबारदेखि शुरु

नव वर्ष नेपाल सम्वत् ११४१ सोमबारदेखि प्रारम्भ भएको छ । दासत्व जीवन व्यतित गरिरहेका देशवासीलाई ऋणबाट मुक्त गरेर मुलुककै नामबाट शङ्खधर साख्वाःले यस दिन नेपाल सम्वत् स्थापना गर्नुभएको हो । 

लिच्छवि राजा राघवदेवको शासनकालमा साख्वाःले गर्नुभएको  अद्वितीय योगदानको कदर गर्दै नेपाल सरकारले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । यसैबीच शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्वत् ११४१ को अवसरमा भक्तपुरको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापण गर्नुभएको छ ।  सो अवसरमा उहाँले नेपाल सम्वत् एकलजातिको मात्र नभई सबै नेपालीको मौलिक सम्वत् भएको बताउनुभएको छ ।

विगतमा भाइटीका र किजा पूजा एकै दिन गरिँदै आएकोमा केही वर्षदेखि फरक फरक दिनमा मनाउन थालिएको प्रसंङग कोट्याउँदै उहाँले केही वर्षयता तिथिमा देखिएको घटबढका कारण दुई दिन मनाइने प्रचलनलाई आगामी वर्षदेखि समायोजन गरेर एकै दिन मिलाउनु आवश्यक रहेको बताउनुभयो ।  नेपाल सम्वत्को नयाँ दिनले हरेक वर्ष प्रणेता शङ्खधर साख्वाःको योगदानलाई सम्झाउने गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

मन्त्री श्रेष्ठले सरकारले राजधानीको रत्नपार्कमा शङ्खधरको शालिक बनाइ रहेको उल्लेख गर्दै नेपाल सम्वत्लाई सरकारी कामकाजमा तथा व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत् ११४१ को अवसरमा पठाउनुभएको सन्देश वाचन गरिएको थियो ।