नेकपा दुई समूहमा विभाजित भएपनि आफु कुनै समूहमा नभएको वामदेव गौतमको स्पष्टीकरण

2 years ago

नेकपा दुई समूहमा विभाजित भएपनि आफु कुनै समूहमा नभएको वामदेव गौतमको स्पष्टीकरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गर्नु भएको छ । बिहीवार राष्ट्रियसभाको बैठकको विशेष समयमा उहाँले पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुनु स्वभाविक भएपनि नेकपाका अध्यक्षले विवादमा समाधान दिन नसकेको तर्क गर्नुभयो ।

पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गर्नुभयो । आफू विभिन्न कारणले विरोधी जस्तो भएर बस्नु परेको गुनासो पनि उहाँले राख्नुभयो । 

पछिल्लो समय आफू निरन्तर पार्टी एकतालाई जोगाउन लागि परेको र अविश्वासको प्रस्तावलाई पनि असफल गराएको उहाँले बताउनु भयो । प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वाेच्च अदालतको संवैधानिक इजलासमा लगिएपछि विचाराधीन भएकाले अहिले असंवैधानिक भनेर भन्न नमिल्ने उहाँको भनाई छ ।

उहाँले नेकपाले संविधानको सर्वाेच्चतालाई आफ्नो मूल सिद्धान्त बनाएको तर्क समेत गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य भएपछि पहिलो पटक बैठकमा बोलेका गौतमले आफूलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने राष्ट्रपति, प्रधानमन्त्री र तत्कालीन पार्टीका नेताहरुलाई धन्यवाद पनि दिनुभयो ।