दसैँ आठौ दिन महागौरीको विधिपूर्वक पूजाराधना गरियो

2 years ago

दसैँ आठौ दिन महागौरीको विधिपूर्वक पूजाराधना गरियो

नवरात्रिको आठौं दिन शनिबार दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिएको छ । प्रत्येक वर्ष दुर्गापक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ । महागौरीको रङ पहिले केही कालो भएको र भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेकोमा त्यो शब्द भगवतीलाई मन नपरेपछि तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले उनलाई महागौरी भनिएको हो भन्ने विभिन्न पुराणमा वर्णन गरिएको छ ।

सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेको स्वरुपमा महागौरी हुन्छिन् भन्ने ती पुराणमा लेखिएको छ । दुर्गाका यिनै नौ रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।