कोरोनाका कारण तलेजु भवानी मन्दिर बन्द

2 years ago

कोरोनाका कारण तलेजु भवानी मन्दिर बन्द

कोरोना संक्रमण जोखिमका कारण यस वर्ष हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छैन । काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर कोरोना संक्रमण जोखिमकै कारण सर्वसाधारणका लागि खुला नगरिएको हो ।  तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष अश्विन शुक्ल अर्थात महानवमीका दिन मात्र खुल्ने परम्परा छ । बडादसैंको नवमीको दिन मात्रै खुल्ने भएकाले नवमीको दिन दर्शनार्थीहरुको भीड लाग्ने गर्दथ्यो । 

यसअघिका वर्षहरुमा नवमीका दिन दर्शनार्थीहरुले रातिदेखि नै लाइन बसी दर्शन गर्दै आएका थिए । तर कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष भवानीको नित्य पूजा भए पनि सर्वसाधारणका लागि खुला नगरिएको तलेजू भवानी मन्दिरका मुल पूजारी उद्वमान कर्माचायले जानकारी दिनुभयो । सर्वसाधारणले वर्षमा एक पटक मात्र दर्शन गर्न पाउने तलेजु मन्दिरमा संक्रमणको जोखिम कम भएपछि एउटा शनिबार पारेर भक्तजनहरुलाई दर्शनका लागि खुल्ला गर्ने योजना रहेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले नेपाल संवत ६९५ मा दसैको दिनमा महेन्द्र मल्लको मृत्यु हुँदा तलेजु मन्दिर बन्द भएको र त्यसपछि यस वर्ष कोरोना संक्रमणको जोखिमकै कारण मन्दिर बन्द भएको बताउनुभयो ।

तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइए पनि भक्तालुहरुले भने बन्द मन्दिरको मूल ढोकामा पूजाआजा गरेकाछन् । मनको मनोकांक्षा अर्थात भाकल पूरा हुने विश्वासमा तलेजु भवानीलाई पूजा गर्ने प्रचलन रहेको छ ।  

मल्ल राजाहरुको इष्टदेवीकारुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएका हुन् । सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ । सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्नेक्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजु भवानीले ‘वर्षको एकपटक महानवमीको दिनमात्र आउँछु’ भन्ने वचन दिएको किंवदन्ती रहेको छ ।

वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा–आराधना गरिन्छ ।