कांग्रेस पार्टीभित्रको विवादलाई अन्त्य गर्दै एकताका साथ अघि बढ्ने सहमति

2 years ago

कांग्रेस पार्टीभित्रको विवादलाई अन्त्य गर्दै एकताका साथ अघि बढ्ने सहमति

नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीभित्रको विवादलाई अन्त्य गर्दै एकताका साथ अघि बढ्ने सहमति गरेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निबास बुढानिलकण्ठमा बसेको बैठकबाट नेताहरुबीच देखिएको आशंका र अविश्वास चिर्ने काम भएको भन्दै एकताका साथ अघि बढ्ने सहमति भएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत्तले जानकारी दिनुभयो ।

केहि दिनमा केन्द्रीय कार्यसमिति बसेर अधिवेशनको कामलाई अघि बढाउन निश्चित कार्यदिशा तय गर्ने उहाँले बताउनुभयो ।

महत्तले क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजनका बिषयमा देखिएको विवाद पनि लगभग टुङ्गीएको उल्लेख गर्नुभयो ।

पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने बिषयमा केहि दिनयता काग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बस्दै आएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले १६–बुँदे असहमतिपत्र पार्टी कार्यालयमा दर्ता गरेपछि कांग्रेसभित्र विवाद हुँदै आएको थियो ।

यसैबीच सोमबार कार्तिक २४ बस्ने भनिएको कांग्रेसका केन्द्रीय कार्यसमिति बैठक पनि स्थगीत गरिएको छ । केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएकाले बैठक कार्तिक २७ गते बस्ने तय भएको कांग्रेसले जनाएको छ ।