ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक

2 years ago

ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक

आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ ।  

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको छ ।

बैठकले भक्तपुरमा मनाइने बिस्केट जात्रा, भैरव, भद्रकालीको रथ तान्ने, लिङ्गो उठाउने, मध्यपुरथिमिको बोडेमा मनाइने जिब्रो छेड्ने, बालकुमारीमा मनाइने सिन्दुर जात्रालगायतका भीडभाड हुने जात्रा पर्व मनाउन रोक लगाउँदै जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमिति गर्ने निर्णय गरेको छ ।

बिस्केट जात्रा एवं पर्वमा रोक लगाएको भन्दै भक्तपुर र मध्यपुरथिमिका बासिन्दाले विरोध गरेका छन् । गत वर्ष पनि लकडाउनका कारण जात्रा पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्दा स्थानीयवासीले बिस्केट जात्रा मनाउन पाएका थिएनन् ।

यस वर्ष जात्रा मनाउनका लागि गुठी संस्थानले भक्तपुरको तौमढीमा भैरव र भद्रकालीको प्यागोडा शैलीमा रथ निर्माण गराइरहेको छ भने भेलुखेलमा ५५ हात लामो लिङ्गो ल्याएर राखिएको छ ।

प्रशासनले भक्तपुरमा हजारौँ सहभागी हुने गरी व्यापार मेला चलाउने स्वीकृति दिने तर आफ्नै जात्रा पर्व र परम्परा रोक्न खाज्ने भन्दै स्थानियले विरोध जनाएका छन् ।