3 years ago
अस्ट्रेलियामा कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । यसअघि अस्ट्रेलियाले तयार गरेको भन्दा एक दिनअघि नै कोरोना विरुद्धको खोप कार्यक्रम सुरु गरेको हो ।
प्रधानमन्त्री स्कट मौरिसन र ८४ वर्षीय विश्वयुद्धमा बचेका जेन मालीसियकले कोरोना खोप लगाएसँगै अस्ट्रेलियामा कोरोना खोप कार्यक्रम सुरु भएको हो । उनीहरुले सिड्नीस्थित एक मेडिकल सेन्टरबाट फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाएका हुन् ।
यो सुरक्षित छ यो महत्वपूर्ण पनि छ र हामीले यसलाई फ्रन्टलाइनमा सबैभन्दा जोखिममा रहेका मानिसबाट सुरु गरिने प्रधानमन्त्री मौरिसनले बताएका छन् ।
आइतवार सिड्नीमा केही वृद्ध मानिसका साथै फ्रन्टलाइन नर्स र कर्मचारीलाई पनि कोरोना खोप दिइएको थियो । आइतवार अस्ट्रेलियामा लगातार दोस्रो दिन कोरोनाका कुनै पनि संक्रमित फेला परेनन् ।
अस्ट्रेलियामा मार्च महिनासम्म जोखिमको आधारमा ४० लाख मानिसले कोरोना खोप पाउने अपेक्षा छ । आगामी अक्टोबरको अन्तिमसम्ममा मुलुकका सबै नागरिकलाई कोरोना खोप दिने अस्ट्रेलियाको लक्ष्य रहेको छ ।