सुरक्षित उडानका लागि बुद्ध एयरको ट्रायल

2 years ago

सुरक्षित उडानका लागि बुद्ध एयरको ट्रायल

सुरक्षित उडानका लागि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण नफैलने गरी निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ ।

बुद्ध एयरले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखरा र बिराटनगरका लागि कोरोना संक्रमण नफैलने गरी तयार गरिएको कार्ययोजना अनुसार डमी उडान गरिएको थियो । डमी उडानका लागि यात्रुलाई आन्तरिकको प्रस्थान बिन्दुबाट, बोडिङ कक्ष देखि सुरक्षित रुपमा बिमानसम्म पुराइएको थियो ।

त्यस्तै सुरक्षित रुपमा बिमानसम्म यात्रु पुराइएको थियो भने बिमानभित्र बस्दा कोरोना संक्रमणबाट बच्न आवश्यक सुरक्षा कवज प्रदान गरिएको थियो । बुद्ध एयरले अबको ४० दिनपछि हुने आन्तरिक उडानमा यात्रा गर्ने एक यात्रुबाट अर्को यात्रुमा संक्रमण नफैल्ने गरी उडान गर्ने बुद्धका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बताउनुभयो ।

बुद्ध एयरले एक घन्टामा ४ वटा उडान गर्नेगरी तयारी गरेको छ । साथै बुद्ध एयरले प्रत्येक उडानपछि जहाज डिसइन्फेक्सन समेत गर्ने भएको छ । सरकारले प्रतिबन्ध लगाएको आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेसँगै आन्तरिक उडानलाई सुरक्षित तवरबाट सञ्चालन गर्न लागेको एयरका प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

बुद्ध एयरले विमानस्थलमा उडानका लागि आउने यात्रुका लागि कम्पनीले तयार पारेको कोभिड–१९ को सुरक्षा निर्देशिका र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सुरक्षा मापदण्ड पनि पूर्ण रुपमा पालना गर्ने पनि जनाएको छ । बुद्धले अप्रेशनका लागि सवै कर्मचारीलाई पनि काममा बोलाइसकेको जनाएको छ ।