सामाजिक अपराधमा संलग्न जोकोहीलाई कारबाही हुने

2 years ago

सामाजिक अपराधमा संलग्न जोकोहीलाई कारबाही हुने

गृहमन्त्री रामबहादुर थापाले सामाजिक अपराधमा संलग्न जोकोहीलाई पनि कानुनबमोजिम विनापूर्वाग्रह र निष्पक्ष रूपमा कारबाही हुने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले यसका लागि गृह मन्त्रालय मातहतका पदाधिकारीहरूलाई निर्देशनसमेत दिएको बताउनुभएको हो ।

समाजमा हुने हत्या, हिंसा, चोरी, तस्करी, ठगी, अपहरण, बलात्कार, जातीय वा महिला हिंसाजस्ता आपराधिक कार्यप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न गृह प्रशासन प्रतिबद्ध रहेको रहेको उहाँले बताउनुभयो ।

कहीँ कतैबाट राजनीतिक वा आर्थिक प्रभावमा परी कर्तव्यपालनामा कमजोरी भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । सीमा सुरक्षा व्यवस्थापन गर्नका लागि पाँच सय स्थानमा बिओपी राख्ने लक्ष्य राखिएको उहाँले जनकारी गराउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षमा ५९ वटा बोर्डर आउट पोस्टको स्थायी भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।